रसुवाको भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे बजार ध्वस्त बनाएको छ ।
गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ का सदस्य पेमा दोर्जेका अनुसार टिमुरे बजार पूरै ध्वस्त भएको छ । त्यसमा कति जना बेपत्ता भए भन्ने यकिन हुन सकेको छैन । साथै, सयौँ जना उद्धारको पर्खाइमा बसेको उनले जानकारी दिए ।
“बिहान साढे ८ बजे ठूलो आवाजका साथ बाढी आयो । हामीले केही सोच्न पनि नपाउँदै तहसनहस भयो । टिमुरे बजारमा केही पनि बाँकी छैन, बाढीले सबै तहसनहस बनाएको छ । कति घर बगे, कति मानिस हराए, केही पनि थाहा छैन ।
टिमुरेमा मात्रै सय घरभन्दा बढी थियो होला । माथिबाट आएको आवाज र बाढी हेर्दा केही पनि जोगिएको छैन जस्तो लाग्छ ।
हामी जोडिएकाहरू माथि डाँडामा आएर बसेका छौँ । जो जस्तो अवस्थामा थियौँ, भागाभाग गरेर यहाँ आइपुगेका छौँ । साना केटाकेटीहरूलाई के खुवाउने, कसरी जोगाउने ? केही छैन । बगेको पानी खाएर बसेका छौँ ।
हामी उद्धारको पर्खाइमा छौँ । माथि हेलिकप्टर घुमेका छन्, तर हामीसम्म आइपुगेका छैनन् । म गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर २ को सदस्य पेमा दोर्जे घले हुँ । मेरो सम्पर्क नम्बर ९८६२२६३५०६ हो । सरकारी निकायहरूले हामीलाई सम्पर्क गरेर उद्धार गरिदिए ठूलो राहत हुने थियो उनले भने |

