
सुर्खेत ।
प्रदेश सभाका महिला माननीय सदस्यहरुका लागि `मिडिया (सञ्चार माध्यम) मा महिला सांसदको उपस्थिति´ बिषयक सञ्चार सीप सम्बन्धि कार्यशाला कार्यक्रम सम्पन्न भएको छ ।
प्रदेशसभा सचिवालय कर्णाली प्रदेशको भिडियो कन्फ्रेन्स हलमा शुक्रवार आयोजित सो कार्यक्रममा कर्णाली प्रदेशका महिला माननीयहरु लगायत सात वटै प्रदेशबाट बिषयगत समितिका सभापति/अध्यक्ष, प्रदेशका माननीय, प्रदेशसभाका सचिवालय/समितिका सचीव लगायत सञ्चारकर्मीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा महिला सांसद एबम् मिडिया र पत्रकार बारेको बुझाई, महिला सांसद माथि भए गरेका सामाजिक एबम् राजनीतिक दुर्व्यवहर, नेपाली मिडिया र महिला, संचार एबम् मिडिया ब्यबस्थापनका लागि आबश्यक सीप र क्षमता बिषयमा छलफल गरिएको थियो ।
त्रिभुवन विश्व विद्यालय काठमाडौँ केन्द्रिय पत्रकारिता तथा आम संचार बिभागका उप-प्राध्यापक घमराज लुइटेललाई कार्यक्रममा बिज्ञको रुपमा राखिएको थियो भने कार्यक्रममा मिडियामा महिला सांसदको पहुँच र यसको प्रभावकारीता, उत्कृष्ट मिडिया ब्यबस्थापनका केही परिस्थितिगत उदाहरण माथी छलफल सहित क्षमता अभिबृद्दी अभ्यास समेत गरिएको थियो ।
सामाजिक बिकास समिती कर्णाली प्रदेशको आयोजना, यूएनडिपी नेपाल/ संसद सहयोग परियोजनाको सहकार्यमा आयोजित कार्यक्रममा स्वागत मन्तव्य समितिका अध्यक्ष मा. देवी ओलीले गरेकी थिइन् भने सहजीकरण समितिका सचीव राजेन्द्र पौडेलले गरेका थिए ।
कार्यक्रममा कर्णाली प्रदेशका सहभागिहरुको भौतिक रुपमै उपस्थिति भएपनी अन्य ६ वटा प्रदेशका सहभागिले भर्चुअल विधि मार्फत सहभागिता जनाएका थिए ।

