पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अनाबासेक पक्राउ गरिएको भन्दै चौतर्फी विरोध भइरहेको छ। वरिष्ठ अधिवक्ता विपिन अधिकारीले जबरालाई पूर्वसूचनाबिना मध्यराति महाराजगन्जस्थित निवासबाट प्रहरीले टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुर्याएर सोधपुछ गरेको समाचार चिन्ताजनक भएको बताए। कुनै फौजदारी मुद्दामा पक्राउ नगरिएको प्रहरीको भनाइ र पर्याप्त कानुनी आधार नभई यो गरिएको उनको तर्क छ।
‘प्रहरीले ‘सेक्युरिटी थ्रेट’ अर्थात् सुरक्षा खतरालाई कारण बताएको छ भने त्यो खतरा वास्तवमा के थियो भन्ने स्पष्ट गरेको छैन। त्यस्तै, प्रहरीले उनीविरुद्ध मुद्दा चलाउने योजना नभएको बताइसकेपछि यो सम्पूर्ण प्रक्रियाको अर्थ के हो?’ उनले भने, ‘झन् अस्पष्ट छ। सुरक्षा खतरा वास्तवमै के थियो? घरमै सुरक्षा व्यवस्था थप्नुको सट्टा किन मध्यरातमा प्रहरी कार्यालय लैजानु पर्यो? यसको स्पष्ट जवाफ प्रहरीले दिनुपर्छ।’
चिन्ताको मुख्य विषय कारबाहीको तरिका र त्यसबाट जाने सन्देश भन्दै उनले पर्याप्त कानुनी आधारबिना दबाब, भय वा प्रतिशोधको उद्देश्यले यस्तो गरिएको हो भने त्यसले बहालवाला न्यायाधीशहरूमा समेत सरकार वा राज्यसत्ताको प्रतिकूल निर्णय गर्दा भविष्यमा राज्य संयन्त्र प्रयोग हुन सक्छ भन्ने भय पैदा गर्न सक्ने बताए।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश ईश्वर खतिवडाले जबराको पक्राउले प्रश्नै प्रश्नमात्र उठाएको प्रतिक्रिया दिए। ‘किन भन्ने प्रश्नहरू छन्। त्यसो किन गरियो, थाहा छैन। फेरि त्यसो किन गरियो, त्यो पनि थाहा छैन। त्यसो गर्नुको तार्किक कारण के हो भन्ने पनि थाहा छैन। थाहा नपाउनुको कारण पनि थाहा छैन,’ उनले भने, ‘न इतिहासका आधारमा थाहा पाउन सकियो, न त अरू कुनै अभ्यासबाट थाहा सम्बन्धी प्रश्नको जवाफ भेटियो। परिणामतः थाहा निरञ्जन निराकार अथाहामा परिणत हुन पुगेको जस्तो भयो उनले भने ।
