चार दिनको बर्षा र बाढीपहिरोले कम्तीमा २१ को मृत्यु, सयौं विस्थापित

  ।   १२ आश्विन २०८३, सोमबार १२:४३

पछिल्ला चार दिनको लगातार अविरल वर्षा, बाढी र पहिरोका कारण चार जिल्लामा कम्तीमा २१ जनाको मृत्यु, भएको छ भने पाँच जना बेपत्ता र सयौं परिवार विस्थापित भएका छन्।

बागलुङ, पर्वत, पाल्पा, मनाङ, म्याग्दी, नवलपरासी पूर्व, धनुषालगायत जिल्लामा घर, पुल, सडक, सरकारी संरचना र पशुधनमा ठूलो क्षति पुगेको छ।
कालीगण्डकी, मर्स्याङ्दी र नारायणी नदीको बहाव बढेपछि विभिन्न बस्ती डुबान र कटानमा परेका छन् भने उद्धार तथा राहत कार्य जारी छ।
पाल्पा, पोखरा र लमजुङ — बाढीपहिरोले चार जिल्लामा कम्तीमा २१ जनाको मृत्यु भएको छ भने ५ बेपत्ता छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्ला ४ दिनमा बाढीपहिरो र अविरल वर्षाका कारण उक्त मानवीय क्षति भएको हो । यस विपद्ले विभिन्न जिल्लामा ४ सय १९ परिवारका १ हजार ४ सय ५१ जना विस्थापित भएका छन् । बागलुङ, पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा र धनुषालगायत जिल्ला र आसपासका क्षेत्रमा बाढी, कटान र पहिरोले जनधनको क्षति गरेको हो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रारम्भिक विवरणअनुसार वर्षा र त्यसपछि आएको बाढी तथा पहिरोले १ सय ७९ घर पूर्ण र २६ घर आंशिक रूपमा क्षति भएका छन् । थप २ सय ७० घर जोखिममा परेका छन् । बाढीपहिरो र डुबानबाट गण्डकीमा १२ गोठमा पूर्ण र एउटामा आंशिक क्षति पुगेको छ । कम्तीमा ४४ पशु मरेका छन् । क्षतिको यकिन विवरण अझै संकलनकै क्रममा रहेको प्रदेश प्रहरीका सूचना अधिकारी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए । त्यस्तै ६ वटा पुल पूर्ण र दुई वटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । सरकारीतर्फ तीन कार्यालय पूर्ण, तीन कार्यालय आंशिक र नौ कार्यालय जोखिममा छन् । सवारीसाधनतर्फ तीन दुईपांग्रे र १५ चारपांग्रे क्षतिग्रस्त छन् । सडक तथा यातायात संरचनामा परेको प्रभावका कारण केही स्थानमा आवागमनसमेत प्रभावित भएको छ ।

मानवीय क्षतिका हिसाबले बागलुङ सबैभन्दा बढी प्रभावित भएको छ । बागलुङमा मात्रै १० जनाको मृत्यु र एक बेपत्ता छन् । बागलुङमा २३ घर पूर्ण रूपमा क्षतिग्रस्त छन् भने चार घर जोखिममा छन् । बाढीपहिरोमा २३ पशु मरेका छन् । जिल्लामा तीन वटा सरकारी कार्यालय जोखिममा परेको विवरण छ । विपद्बाट २६ घरका ८० जना विस्थापित छन् । पर्वतमा घर क्षति र विस्थापन बढी भएको छ । प्रहरीका अनुसार कालीगण्डकी नदीमा आएको बाढीले पर्वतमा १६ घर पूर्ण र ४ घर आंशिक क्षति भएका छन् भने ८२ घर जोखिममा छन् । १ सय ६२ परिवारका ५ सय ४० जना विस्थापित भएका छन् । जिल्लामा तीन वटा पुल क्षतिग्रस्त भएका छन् । दुई सरकारी कार्यालयमा आंशिक क्षति र एउटा जोखिममा परेको छ ।

कालीगण्डकी नदीले मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत–बागलुङ जोड्ने मालढुंगा पुलमा क्षति पुर्‍याउँदा यातायात ठप्प भएको छ । प्रहरी प्रधान कार्यालयले पर्वतको जलजला गाउँपालिका ८ स्थित फर्सेममा कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा क्षति भएको जनाएको छ । बस्तीमा रहेका ८० घरका स्थानीयलाई सुरक्षित स्थानमा स्थान्तरण गरिएको छ ।

नवलपरासी पूर्वमा डुबानले १५ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने १ सय ४८ घर जोखिममा छन् । १ सय ६२ परिवारका ६ सय १३ जना विस्थापित भएका छन् ।

स्याङ्जामा १३ घर पूर्ण रूपमा क्षतिग्रस्त छन् । थप १० घर जोखिममा छन् । २३ परिवारका ७२ जना विस्थापित भएका छन् । एउटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । गुल्मी–स्याङ्जा जोड्ने बेलिब्रिजसमेत बाढीले बगाएको छ । जिल्लामा एउटा सरकारी कार्यालय पूर्ण र अर्को जोखिममा परेको छ । तनहुँमा एक जना घाइते भएका छन् । बाढीपहिरोबाट १० घर पूर्ण र ६ घर आंशिक क्षति भएका छन् भने आठ घर जोखिममा छन् । दुई गोठमा पूर्ण र एउटा गोठमा आंशिक क्षति पुगेको छ । पाँच पशु मरेका छन् । एउटा पुल पूर्ण र अर्को आंशिक क्षति भएको छ । १८ घरका ५४ जना विस्थापित भएका छन् ।

लमजुङमा दुई जना घाइते भएका छन् । जिल्लामा एउटा घर पूर्ण र पाँच घर आंशिक क्षति भएका छन् भने चार घर जोखिममा छन् । आठ घरका २८ जना विस्थापित भएका छन् । कास्कीमा पनि घर तथा सरकारी संरचनामा क्षति पुगेको छ । एउटा घर पूर्ण र चार घर आंशिक क्षति भएका छन् भने एउटा घर जोखिममा छ । दुई पशु मरेका छन् । एउटा सरकारी कार्यालय पूर्ण, अर्को आंशिक र थप एउटा कार्यालय जोखिममा परेको छ । तीन घरका १० जना विस्थापित भएका छन् ।

गोरखामा तीन घरमा आंशिक क्षति पुगेको छ भने १२ घर जोखिममा छन् । दुई गोठमा पूर्ण क्षति पुगेको छ । एउटा पुल र एउटा सरकारी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । १३ घरका ४३ जना विस्थापित भएका छन् । प्रहरीको विवरणमा एउटा काठेपुल र एउटा मदरसा पनि जोखिममा रहेको उल्लेख छ । मनाङमा चार घर पूर्ण र चार घर आंशिक क्षति भएका छन् । एउटा गोठ र एउटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । एउटा चर्च पूर्ण रूपमा क्षतिग्रस्त भएको प्रहरीको विवरणमा छ । जिल्लामा थप क्षतिको विवरण संकलन भइरहेको छ ।

म्याग्दीमा एक जनाको मृत्यु, एक जना घाइते र तीन जना बेपत्ता भएका छन् । जिल्लामा ६ घर पूर्ण रूपमा क्षतिग्रस्त र एउटा घर जोखिममा परेको छ । एउटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने दुई पशु मरेका छन् । बेनी–जोमसोम सडक खण्डमा पर्ने पोखरेबगरमा कालीगण्डकी नदीले पुलमा क्षति पुर्‍याएको छ । उक्त पुलमा क्षति पुगेसँगै मुस्ताङ र म्याग्दीका विभिन्न पालिका सडक सम्पर्कबाट विच्छेद भएको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । म्याग्दीमा चार घरका ११ जना विस्थापित भएका छन् । सात वटा चारपांग्रे सवारीसाधनमा समेत क्षति पुगेको छ ।

मुस्ताङमा भौतिक क्षति भएको छ । जिल्लामा एउटा गोठ पूर्ण रूपमा क्षतिग्रस्त हुँदा १० पशु मरेका छन् । एउटा सरकारी कार्यालय जोखिममा परेको छ । एउटा दुईपांग्रे, एउटा चारपांग्रे सवारीसाधन र अन्य एक संरचनामा क्षति पुगेको विवरण छ ।

निरन्तर वर्षाले पाल्पामा पहिरोमा पुरिएर ५ जनाको मृत्यु भएको छ । अविरल वर्षांसँगै खसेको पहिरोमा पुरिएर पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीय कृष्णकुमारी सारूको शनिबार मृत्यु भएको हो । शुक्रबार पहिरो गई घर पुरिँदा बेपत्ता भएकी सारूको खोजतलासका क्रममा शनिबार सोही स्थानमा मृत फेला परेको प्रहरीले जनाएको छ । आइतबार माथागढी गाउँपालिका–२, रुप्सेमा ७५ वर्षीय शेरबहादुर चिदीको पहिरोले पुरिएर मृत्यु भएको छ । चिदीको घरसमेत पहिरोले पुरेर क्षति पुगेको छ ।

माथागढी गाउँपालिका–३, कसेनीको भैसकट्टामा ७५ वर्षीय लिलबहादुर घर्तीमगर, १७ वर्षीया डीना घर्ती र १५ वर्षीया झरना घर्ती मगरको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए । झन्डै २ सय मिटर माथिल्लो भागबाट खसेको पहिरोले घरगोठ, चौपायासमेत पुरेको वडाध्यक्ष तेजबहादुर घर्तीमगरले बताए । अर्को एक घरमा समेत क्षति पुगेको छ । माथगढीका विभिन्न स्थानमा अविरल वर्षाले क्षति पुगेको गाउँपालिका अध्यक्ष यम चिदीले जानकारी दिए । पाल्पामै कालीगण्डकी नदीले रिडी, रानीमहल, राम्दी, हुँदी, होस्दी, भुजातलगायत दर्जन बढी स्थानमा क्षति पुगेको छ ।

यसैबीच, माथागढी गाउँपालिकाको चिदीपानी सिम्मेमा नूरबहादुर बरालको घरमा बाढी पसेर क्षति पुगेको छ । स्थानीय रेलबहादुर दमाई र गोविन्दबहादुर सुनारीको गोठ पहिरोले बगाएको वडाध्यक्ष राजकुमार पन्थीले जानकारी दिए । पूर्ण अपांगता भएका गोविन्द सुनारीसहित प्रभावित परिवारको उद्धार र राहतको काम भइरहेको उनले बताए ।

धनुषाको मिथिला नगरपालिका–११ आँपगाछीस्थित एक घर पहिरोले पुरिँदा स्थानीय ३५ वर्षीय कमला श्रेष्ठको निधन भएको प्रहरीले जनाएको छ । पहिरोमा पुरिएका ४ जनाको उद्धार गरिए पनि एक जनाको शव भेटिएको प्रहरीले जनाएको छ । श्रेष्ठको शव पोस्टमार्टमका लागि बर्दिबास पठाइएको छ ।

नेपाली सेनाले नवलपरासी पूर्वको मध्यविन्दु नगरपालिका–२ भुताहामा नारायणी नदीको बहाव बढेर बाढी तथा डुबानको जोखिममा परेका स्थानीयलाई सुरक्षित स्थानमा सारेको जनाएको छ । त्यस्तै चितवनस्थित भरतपुर नगरपालिकाको देवघाट र बाह्रघरेमा नारायणी नदी बढेर प्रभावित भएका स्थानीयलाई स्थानान्तरण गरेको सेनाको प्रेस नोटमा उल्लेख छ । कति घर डुबान तथा जोखिममा परे भन्ने यकिन छैन ।

मर्स्याङ्दी नदीमा आएको बाढीका कारण मनाङको सबैभन्दा तल्लो क्षेत्रमा पर्ने तालगाउँ घेरिएको छ । कुनातिर भीरजंगल रहेको ताल गाउँको छेउ बग्ने मर्स्याङ्दी नदीले कटान गरेपछि ताल गाउँ बीचमा परेको हो । मनाङको नासों गाउँपालिका–१, ताल गाउँमा करिब ६५ घरपरिवार छन् । वडाध्यक्ष मीनराशि गुरुङका अनुसार सिरानताल हुँदै मनाङतर्फ जाने बाटो र पारि (बेंसीसहर–चामे सडक) तर्फ जाने बाटोमा मर्स्याङ्दीले कटान गरेको छ । कुनातिर भीर रहेकाले जाने ठाउँ छैन । ‘हामीलाई त मर्स्याङ्दीले घेर्‍यो । खोला अलि घटेर मात्र हो । नत्र जे पनि हुन सक्थ्यो । अब जाने ठाउँ नै छैन,’ वडाध्यक्ष गुरुङले भने, ‘अहिले अलिकति खोला घटेर राहत भएको छ, बढ्यो भने जाने ठाउँ छैन ।’

ताल गाउँमा प्रहरी चौकी, स्वास्थ्य चौकी, विद्यालयसमेत छन् । ताल गाउँका ११ घर पूर्ण रूपमा डुबानमा परेका छन् । अरू केही घरमा पनि बाढी पसेको छ । ‘बाढी त धेरै घरमा पसेको छ । डुबानले कतै जान सक्ने अवस्था थिएन । बल्ल हामी जाँदै छौं । त्यसपछि जानकारी दिन्छौं,’ उनले भने । राति बाढी पसेपछि स्थानीयलाई गुम्बा र स्कुलमा लगेर राखिएको उनले बताए । उनका अनुसार मर्स्याङ्दीको बाढीले यसअघि ताल गाउँ जोगाउन बनाइएको पर्खाल र ग्याबिन पर्खाल भत्काएको छ । घट्टे खोलामा आएको बाढीका कारण आइतबार साँझ मनाङ सदरमुकाम चामेमा मर्स्याङ्दी नदी आंशिक थुनिएको छ । घट्टे खोलासँगै आएको बाढी र पहिरोले नदीको बहाव रोकिएपछि मर्स्याङ्दी र घट्टे खोला मिसिएर ताल बनेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए ।

कान्तिपुर बाट साभार

Next Post

पूर्व मुख्यमन्त्री शर्माको प्रदेश सभा पद गुम्यो

१२ आश्विन २०८३, सोमबार १२:४३
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री राजकुमार शर्माको प्रदेशसभा सदस्य पद गुमेको छ। सर्वोच्च अदालतको फैसलासँगै उनी अब कर्णाली प्रदेश सभा सदस्य रहेनन्। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को सिफारिसमा कर्णाली प्रदेशसभा सचिवालयले उनको पद रिक्त गर्ने निर्णय गरेको थियो। प्रचण्डले तत्कालीन नेकपा माओवादी केन्द्रलाई नेकपामा गाभेपछि उनी जनार्दन शर्माले बनाएको प्रगतिशिल लोकतान्त्रिक […]