भोटेकोशी बाढी : १० हजार ४५१ को उद्धार

  ।   १५ भाद्र २०८३, सोमबार १९:५६

रसुवास्थित भोटकोशी नदीमा यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीपछि प्रभावित भएका क्षेत्रबाट हालसम्म १० हजार ४५१ जनाको उद्धार गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार नेपाली सेनाले तीन हजार ३४४ नेपाली र २५२ विदेशी नागरिकको हवाई उद्धार गरेको छ।

भदौ १४ गते मात्रै हाइड्रोपावर क्षेत्रबाट १५ चिनियाँ र सात भारतीय नागरिकको उद्धार गरिएको प्राधिकरणले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि हालसम्म ४११ पटक हवाई उडान गरिएको छ।

उद्धार कार्यसँगै प्रभावित क्षेत्रबाट सम्पर्कविहीन भएकाहरूको खोजीलाई समेत तीव्रता दिइएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म ९०३ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन छन्।

बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, नवलपरासी पूर्व तथा पश्चिम, तनहुँ र चितवनलगायत जिल्ला प्रभावित भएका छन्।

खोज तथा उद्धारका लागि प्रभावित क्षेत्रमा नेपाल प्रहरीका सात हजार ८९४, नेपाली सेनाका आठ हजार ७२२ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ गरी २० हजार ८१९ सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।

प्रभावित नागरिकका लागि खाद्यान्न, गैरखाद्य सामग्री, औषधि तथा स्वास्थ्य सामग्री पठाउने काम पनि जारी रहेको प्राधिकरणका प्रवक्ता महतले जानकारी दिइन्।

Next Post

कांग्रेस र एमाले कर्णाली प्रदेश संसदीय दलद्वारा ३ लाख ७५ हजार सहयोग

१५ भाद्र २०८३, सोमबार १९:५६
बुधवार  रसुवाको भोटेकोशीमा विनासकारी आएको  बाढीको प्रभावित क्षेत्रका लागि कर्णाली प्रदेश सभाका नेपाली कांग्रेस र नेकपा एमाले संसदीय दलले आर्थिक सहयोग गर्ने भएका छन् । दुवै दलको संसदीय दलको बैठकले आफ्ना सांसदबाट रकम संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् । यसअघि नेपाली कांग्रेस संसदीय […]