
काठमाडौं, कात्तिक १४ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एक सातादेखि कोभिड १९ को ‘कन्टयाक्ट ट्रेसिङ’ मा परी होम आइसोलेसनमा बसेका छन् ।
आइसोलेसनमा रहेकै कारण बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष भेट हुन नसकेको अध्यक्ष प्रचण्डको सचिवालयले स्पष्ट गरेको हो । नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई कोरोना संक्रमण भएपछि अध्यक्ष प्रचण्ड होम आइसोलेसनमा बसेका हुन् ।
‘प्रधानमन्त्रीको स्वास्थ्य संवेदनशीलताको कारणले यस्तो बेला भेट्नु उपर्युक्त होइन भनेर नै अध्यक्ष प्रचण्ड बालुवाटार नगएको र बाहिर हल्ला चलेजस्तो अध्यक्षद्वयबीचको सम्बन्ध नराम्रो नभएको पनि सचिवालयले जनाएको छ ।
प्रचण्डको सचिवालयका अनुसार दुई अध्यक्षबीच आज बिहान टेलिफोन संवाद भएको उल्लेख छ ।


