सिमताल पहिरो अपडेट : दुइटा बसका ६५ यात्रु बेपत्ता, पहिरोमा अड्किए गोताखोर

  ।   २८ असार २०८१, शुक्रबार ०८:२७

असार-२८, चितवन ।

नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।

नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान ३ः३० बजेको समयमा सडकको माथिल्लो भागबाट लेदोसहितको पहिरो खस्दा बस बगाएको उनले बताइन् । दुवै बस पहिरो खसेको स्थान पार गर्ने क्रममा माथिबाट लेदो सहितको ठुलो पहिरो खसेको उनले बताइन् । पहिरोका कारण सडक अवरुद्ध भएको र हाल पहिरो पन्छाएर सडक एकतर्फी सञ्चालनमा ल्याएको उनको भनाई छ ।

घटनास्थलमा उद्धार कार्य सुरु हुन नसकेको उनले बताइन् । त्रिशूलीले बसलाई बगाएर घटनास्थलभन्दा केही तल पाखा लगाएको तर, त्यहाँसम्म जान सक्ने अवस्था नरहेको उनले बताइन् । उनका अनुसार बसमा यात्रारत ६५ यात्रुहरु बेपत्ता रहेको र उनीहरूको अवस्था अज्ञात रहेको छ ।

उद्वार कार्यका लागि नारायणगढबाट गोताखोर आउँदै गरेको उनले बताइन् । सो खण्ड अन्तर्गतको कालीखोलाको पहिरोमा गोताखोरहरु अड्किएका कारण उद्धार कार्य सुरु हुन नसकेको प्रहरी निरीक्षक भण्डारीले बताइन्।

`अहिले घटनास्थलमा उद्धार कार्य सुरु गर्न सक्ने अवस्था छैन । सडकको माथिबाट आएको लेदो सहितको पहिराले बसलाई त्रिशूलीमा मिसाएको हो । लेदो सहितको पहिरो भएकाले काम गर्न कठिन भइरहेको छ ।’ उनले भनिन्, ‘बसका यात्रुहरूको अवस्था अज्ञात छ । उद्धार कार्यका लागि गोताखोर बोलाइएको छ । गोताखोरह पनि पहिरोका कारण अड्किएका छन् । काली खोलामा ठुलो पहिरो खसेकाले गोतखोरहरु घटनास्थल पुग्न सकेका छैनन् । गोताखोर नभई उद्धार कार्य सुरु गर्न सकिन्न ।´

काठमाडौँबाट गौर जाँदै गरेको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको एन्जट बस पहिरोसहित त्रिशूलीमा खसेका हुन् ।

Next Post

कास्कीमा पहिरोले घर पुरिँदा एकै घरका ७ जनासहित ११ जनाको मृत्यु, ४ जना घाइते

२८ असार २०८१, शुक्रबार ०८:२७
असार-२८, पोखरा । निरन्तरको वर्षापछि आएको पहिरोमा पुरिएर कास्कीमा एकै परिवारका ७ जनासहित ११ जनाको मृत्यु भएको छ । कास्कीको ३ ठाउँमा भएको घटनामा ११ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए । पोखरा महानगरपालिका-१९ पुरनचौर तल्लाकोट टारीस्थित कुलबहादुर परियारको एकतले ढुँगामाटोले बनेको […]