
जेठ-९, अछाम । अछाममा चट्याङले लागेर ४ जना घाईते भएका छन् । जिल्लाको कमलबजार नगरपालिका वडा नं. १ मुलीका ४ जना घाईते भएका हुन् ।
सोमबार राती आएको हावाहुरी, बर्षा संगै परेको चट्याङले लागेर ४ जना महिला घाइते भएका हुन् । घाईते हुनेमा नगरपालिकाको वडा नं १ मुली निवासीे १८ बर्षिया गिता कुमारी रावत बिष्ट, ३२ बर्षिया धिर्जा बजगाई, ३० वर्षिया सरस्वती बजगाई, र ५० वर्षिया मोतिकला बजगाई रहेको ईलाका प्रहरी कार्यालय कमलबजारका प्रहरी निरिक्षक तथा ईन्चार्ज भास्कर चन्दले जानकारी दिए ।
घाइते मध्ये अन्यको भन्दा गिताको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको प्राथमिक स्वास्थ केन्द्र कमलबजारका डाक्टर अनमोल थापाले बताए । अन्य तीन जना घाइतेलाई थप उपचारका लागि सदरमुकाम मंगलसेन रिफर गरिएको डा. थापाले बताएका छन्। सोही वडामै चट्याङ लागेर एउटा भैसी पनि मरेको र घरमा पनि क्षति भएको स्थानीय कमल विकले बताए ।
अछाम जिल्लाको समग्र क्षतिको विवरण आउन वाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कैलाश सिंह विष्टले जानकारी दिए ।

