परिवारलाई ‘भ्वाइस म्यासेज’ पठाएर नेपाल भागे सुर्खेती दिदीबहिनी, मृत्युको बाटो रोज्नुअघि टिकटक

  ।   ८ श्रावण २०८२, बिहीबार १३:५७

साउन-८, काठमाडौ ।

भक्तपुरको थिमी नगरपालिका–८ बोडेस्थित सिन्टीटारमा मृत भेटिएका दिदी बहिनी भारतबाट ३ साताअघि भागेर भक्तपुरमा आएको खुलेको छ । उनीहरू बिहीबार बिहान पौने ७ बजेतिर मृत भेटिएका थिए ।

महाराष्ट्रस्थित मुम्बईको मिरा भाइन्दरबाट  १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना भागेर नेपाल आएका हुन् । उनीहरूको स्थायी ठेगाना भने सुर्खेतको पञ्चपुरी नगरपालिका–८ हो ।

प्रहरीका अनुसार उनीहरू स्थानीय चक्रधर प्रजापतिको घरमा डेरा लिएर बस्दै आएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी ढुण्डीराज न्यौपानेले सोही घरको डेराको प्यासेजमा झुन्डिएको अवस्थामा दिदी बहिनीको शव भेटिएको जानकारी दिए ।

भारतबाट भक्तपुरमा आए लगत्तै डेरा खोज्न जाँदा उनीहरूले भनेका थिए, ‘यहाँ कलेज पढ्छौँ ।’ मुम्बईमा अभिभावकलाई कम्प्युटर कक्षा जान्छौँ भनेर हिँडेका उनीहरू नफर्किएपछि सुरुमा अभिभावकले भारतीय प्रहरीलाई जानकारी गराएका थिए ।

भारतीय सञ्चार माध्यम ‘सिगास टेलिभिजन’सँग कुरा गर्दै मृतककी आमा उमा कँडेलले भनेकी छन्, ‘कम्प्युटर कक्षा लिन जान्छौँ भनेर उनीहरू डेराबाट निस्केका थिए ।’

पछि दिदी बहिनीले बाबुआमालाई म्यासेज गरे । आमा उमा कँडेलका अनुसार भ्वाइस म्यासेज पठाएर उनीहरूले भनेका थिए, ‘हामी बैंगलोर गयौं, पैसा कमाएपछि आउँछौँ ।’

मेनुका दिदी र सृजना बहिनी हुन् । हराएपछि प्रहरीलाई भनेर लोकेसन हेर्दा भिउण्डी पुगेको देखिएको उमाले भारतीय सञ्चारमाध्यमलाई जानकारी गराएकी छन् ।

मृत फेला परेका उनीहरूले गएराति टिकटक पनि बनाएको भेटिएको छ । यस्तै घटनास्थलमा मोबाइल फेला परेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार भक्तपुरमा आएपछि उनीहरूले एउटा गार्मेन्टमा काम समेत गर्न थालेको बताइएको छ । त्यसबारे यकिन गर्ने काम भइरहेको प्रहरी अधिकृतहरू बताउँछन् ।

यस्तै  उनीहरूले किन मृत्युको बाटो रोजे भन्नेबारे अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

घटनापछि मृतक दिदी बहिनीका बुवा वासुदेव कँडेल काठमाडौँ आउँदै छन् । अभिभावक आएपछि मुचुल्का गरेर शव पोस्टमार्टम गर्न अस्पताल पठाइने डीएसपी न्यौपानेले बताए । उनले भने, ‘हामीले घटनास्थल सुरक्षित राखेका छौं ।’

Next Post

सिन्धुलीमा एकै परिवारका १६ जना रहस्यमय रूपमा बेपत्ता

८ श्रावण २०८२, बिहीबार १३:५७
साउन-१२-सिन्धुली । सिन्धुलीमा एकै परिवारका १६ जना सदस्य रहस्यमय रूपमा बेपत्ता भएका छन् । जिल्लाको गोलन्जर गाउँपालिका वडा नम्बर ६ स्थित भण्डास बिप्पर कटेरीमा बस्ने उर्मिला हायुको परिवारका १६ सदस्य सम्पर्कवबिहीन भएका हुन् । वडाध्यक्ष रविन श्रेष्ठका अनुसार उनीहरू सामाजिक सुरक्षा भत्ता बुझेर फर्किएका थिए । यो परिवारले सीमान्तकृत समुदाय […]

सम्बन्धित