सुर्खेतबाट अछामतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखमा दुर्घटना हुँदा चार जना घाइते भएका छन्। बुधबार बिहान करिब ८ बजे दैलेखको गुराँस गाउँपालिका–१ स्थित मैनेखोलामा सु.प्र. ०१–००१ ख ३०७२ नम्बरको फोर्स गाडी सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार गाडीमा चालकसहित ६ जना मात्र सवार रहेका थिए। तीमध्ये दुई जना सकुशल रहेको र चार जना घाइते भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि स्थानीयवासी र प्रहरीको संयुक्त प्रयासमा घाइतेहरूको उद्धार गरी सडकसम्म उद्दार गरिएको थियो।
दैलेखका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी श्रवणकुमार विश्वकर्माले घाइतेहरुलाई प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत रेफर गरिएको बताए ।
