भोटेकोशी बाढी : डीएनए म्याच कसरी गरिन्छ ? आफन्तले शव कसरी पाउँछन्?

  ।   २४ भाद्र २०८३, बुधबार २१:३२

भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूका शव भेटिने क्रम जारी रहे पनि पहिचान नखुलेका शवको संख्या ठूलो हुँदा सनाखत चुनौतीपूर्ण बनेको छ । सम्पर्कविहीनका आफन्तले शव पहिचानका लागि डीएनए परीक्षण गराइरहेका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंस्थित प्रहरी अस्पताल, जिल्ला प्रहरी कार्यालय वा प्रहरीले तोकेको स्थानमा आफन्तको रगतको नमुना संकलन भइरहेको छ । विदेशमा रहेका परिवारजनले पनि त्यहीं डीएनए प्रोफाइलिङ गराएर नेपाल पठाउन सक्नेछन् ।

पहिचान नखुलेका शवलाई ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन निर्देशिका, २०७८’ अनुसार भेटिएकै जिल्लामा जमिनमुनि व्यवस्थापन गर्न थालिएको छ । शवसँगै भेटिएका कपडा तथा अन्य सामानको विवरण संकलन गरी मुचुल्का तयार गरिन्छ । प्रत्येक शवको डीएनए नमुना, फोटो तथा अनुहार, ट्याटु, चोटपटकलगायत विशेष चिन्हको अभिलेख राखेर छुट्टै पहिचान नम्बर दिइन्छ । सो नम्बर धातुको प्लेटमा लेखेर शवसँगै राखिन्छ ।

हराइरहेका व्यक्तिका बुबा, आमा, छोरा वा छोरीको रगतको नमुना लिएर शवबाट संकलित डीएनएसँग तुलना गरिन्छ । प्रहरी अस्पतालले आइतबारसम्म ९ सय २८ आफन्तको रगतको नमुना संकलन भएको जनाएको छ । तीमध्ये भारत, बेलायत, युक्रेन, चीन, दक्षिण कोरिया, अमेरिका र इजरायललगायत देशमा रहेका ४३ जना छन् ।

संकलित नमुना प्रहरीको विधि विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा परीक्षण गरिन्छ । सामान्यतया रिपोर्ट तयार गरी शवको डीएनएसँग म्याचिङ गर्न कम्तीमा एक महिना लाग्छ । तर अहिले कति समय लाग्छ भन्ने यकिन छैन ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशालाका सूचना अधिकारी मुकुल अधिकारी भन्छन्, ‘हामीले अहिलेसम्म ५८० वटा नमुना प्राप्त गरेका छौँ। जसमा ४६५ वटा आफन्तहरुको र ११५ चाहिँ शवको हो ।’

डीएनए म्याच भएपछि शवको पहिचान पुष्टि गरी कानुनी प्रक्रिया पूरा गरेर आफन्तलाई बुझाइन्छ । पहिचान खुलेपछि शव गाडिएको स्थान पहिचान गरी उत्खनन् गर्न सकिने व्यवस्था छ । परिवारले आफ्नो धर्म, संस्कृतिअनुसार सद्‍गत गर्न चाहेमा शव उत्खनन् गरेर लैजान सक्छन् ।

कान्तिपुर बाट साभार

Next Post

नयाँ उद्योग मन्त्रीमा रास्वपा सांसद दीपक साह

२४ भाद्र २०८३, बुधबार २१:३२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद दीपककुमार साह उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीको पद तथा गोपनियताको सफत लिएक छन्। प्रधानमन्त्री बालेन शाहले साहलाई उद्योग मन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरे पछी रास्तपति रामचन्द्र पौडेलले सफत तथा गोपनियताको सफत गराएका हुन् । उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार पदबाट राजीनामा दिएपछि रिक्त रहेको […]