जुवामा ३ हजार हारेपछि आमालाई चिठ्ठी लेखेर १६ वर्षे किशाेर बेपत्ता

  ।   १४ कार्तिक २०७७, शुक्रबार २०:५९

कार्तिक १४, दैलेख ।

महाबु गाउँपालिका-५, काशीकाँधबाट नारायण नगरपालिका-८, किमुगाउँमा बसाइँ सरेर आएका १६ वर्षे गाेविन्द विक किमुगाउँमा रहेकाे वसन्त माविमा कक्षा नाै मा पढ्दै आएका थिए । कोरोनाको कारण विद्यालय बन्द भएकोले दाजुहरुसँग मजदुरी गर्थे । जिल्ला सदरमुकाम दैलेख बजारको एक घर निर्माणमा जुटेका गोविन्द र उनका दाजुहरुले दशैँको महाअष्टमीको दिउँसै काम रोके र मजदूरीको पैसा पनि पाए ।

गोविन्दका दाजु बखतले रकम बुझेको दिन काम विशेषले घर नगइ खरीगैरा पुग्नु परेको कारण मासुको पैसा तिर्न गोविन्दको हातमा तीन हजार रुपैयाँ दिएका थिए । तर गाेविन्दले त्याे सबै पैसा साँझ दौतरीसँग तासको ‘काट’ भन्ने खेल खेल्दा हारेछन् ।

तासमा तीन हजार हारेका गोविन्द राति ११ बजेतिर घर पुगे, आमाले राखिदिएको खाना खाएर आफू सुत्ने कोठामा एक्लै सुते । भोलिपल्ट कात्तिक ९ गते बिहान झिममिसेमै घरबाट भागेर सुर्खेत पुगे तर अहिले उनी त्यहाँबाट पनि बेपत्ता भएका छन् ।

९ गते राति कहाँ बसे ? के खाए ? भन्ने थाहा नभए पनि १० गते दशैँको दिन पहिले चिनेको सुर्खेत बजारको एक सुनचाँदी पसल र एउटा होटलमा काम छ कि ? भनी सोधेको खुलेको छ । दशैँको दिन सुर्खेतमा देखिए पनि त्यसपछि उनी कहाँ कता गए भन्ने खुल्न नसकेको परिवारजनले बताएका छन् ।

१० गते सुर्खेतमा थिए भन्ने थाहा पाएर ११ गतेदेखि लगातार चार दिनसम्म पनि खोजी गर्दा कतै पत्ता नलागेको गोविन्दका दाजु बखतबहादुर विकले बताए ।

दौतरीको लहलहैमा लागेर जुवा (तास) मा हारेपछि उनले सबै कुरा नखुलाए पनि ‘नजानेर गल्ती भयो माफ गर्नुहोला, म सधैँको लागि गएको होइन, फर्किन्छु’ भनेर आमालाई सम्बाेधन गरेर लेखेको चिठ्ठी ९ गते दिउँसाे मात्र फेला परेको थियो ।

चिठ्ठीकाे भाषाबाट जुवामा हारेको रकम कमाएर फर्किने मन देखिन्छ तर कहाँ गए भन्ने खुल्न सकेको छैन ।

उनको घरमा दाजु, भाउजु, एउटा बहिनी र आमा गरी पाँच जनाको परिवार छ । गोविन्द चार वर्षको छँदा बुबाको निधन भइसकेको थियाे ।

जिल्ला प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय दैलेखमा बालकको हुलियासहित खोजी सहयोगका लागि निवेदन दिए पनि अहिलेसम्म पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ ।

पढाइ केही कमजोर भए पनि गोविन्दले दैलेख सदरमुकामका तीन वटा पसलमा गरी ८–१० महिना सुनचाँदीको गहना बनाउने सीप सिकेका छ्न् । उनी लकडाउनयता ६ महिनाभन्दा बढी दाजु र अरु डकर्मी मिस्त्रीहरुसँग मजदुरी गर्दैै आएका थिए । @ujyalo

यस्तो छ पत्रको ब्यहोरा-

Next Post

बुवाले गराइदिए छोराको चौरासी पूजा

१४ कार्तिक २०७७, शुक्रबार २०:५९
कार्तिक १५, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)का एक बुवाले छोराको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन्। बुवाले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ। सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको शुक्रबार चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए। बुवाले छोरोको चौरासी गरेको […]