यो बर्ष दसैंको टीकाको साइत बिहान १०:१९ बजे

  ।   १६ आश्विन २०७७, शुक्रबार ०७:२१

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७७ को विजयादशमीलगायत दसैंका विभिन्न साइत सार्वजनिक गरेको छ। विसं २०७७ कात्तिक १ गते शनिबारदेखि नेपालीको महान् चाड बडादसैं शुरु हुँदैछ। दुर्गा पक्षसमेत भनिने दसैंको पहिलो दिन वैदिक सनातन धर्मावलम्बीले घरघरमा दियो, कलश र गणेश स्थापना गरी विशेष पूजासहित घटस्थापना गर्छन्। घटस्थापनाको साइत कात्तिक १ गते शनिबार बिहान ११:४६ बजे शुभ रहेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए।

देशभरका शक्तिपीठमा घटस्थापनाकै दिनदेखि विशेषरूपमा भक्तजनको भीड लाग्ने भए पनि यस वर्ष कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकाले भौतिक दूरी कायम गरी दर्शन गर्नुपर्ने अवस्था छ। कात्तिक ५ गते बुधबार पचली भैरव यात्राको साइत जुरेको छ। कात्तिक ७ गते शुक्रबार फूलपाती छ। फूलपाती भित्र्याउन साइत आवश्यक पर्दैन। विशेषगरी बेलुकी नवदुर्गा स्थापना गरी घटस्थापना गरिएको पूजा कोठा अथवा दसैं घरमा फूलपाती भित्र्याइन्छ।

कात्तिक ७ गते शुक्रबार फूलपातीकै दिन बिहान ८:५६ बजे तुलजा भवानीको यात्रा चलाउने साइत छ। यात्रा सकेर बिहान १०:१४ बजे तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत निस्किएको समितिले जनाएको छ।  कात्तिक ८ गते शनिबार महाअष्टमी पर्व मनाइन्छ। यस दिन बलि दिनेले बलिसहित देवीको पूजा आराधना गर्छन्। बेलुकी कालरात्रि मनाइन्छ। कात्तिक ९ गते आइतबार महानवमी पर्व पनि शक्तिपीठमा पूजा आराधना गरी मनाइन्छ। यस दिन वसन्तपुरको कोतमा राज्यका तर्फबाट बलिसहित पूजा आराधना हुन्छ।

दसैंको मुख्य दिन कात्तिक १० गते सोमबार विजयादशमी पर्व परेको छ। यस दिन बिहान नौ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०:११ बजेको साइत शुभ रहेको र विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०:१९ बजेको साइत उत्तम रहेको अध्यक्ष गौतमले जानकारी दिए।

Next Post

ब्राउन सुगरसहित चारजना पक्राउ

१६ आश्विन २०७७, शुक्रबार ०७:२१
ब्राउन सुगरसहित प्रहरीेले सुर्खेतमा चारजनालाई पक्राउ गरेकाे छ । भेरीगंगा नगरपालिका-५, बबईस्थित प्रहरीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेकाे हाे । सुर्खेतबाट नेपालगन्ज जाँदै गरेका भे ७ प ९९२३ र भे ९ प ९०१७ नम्बरका मोटरसाईकलमा शंका लागेर चेकजाँच गर्दा ब्राउन सुगर फेला परेकाे प्रहरीले जनाएकाे छ । उक्त ब्राउन सुगरकाे […]