स्पेन बन्यो फिफा विश्व च्याम्पियन

  ।   ४ श्रावण २०८३, सोमबार ०४:४१

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि जितेको छ । अतिरिक्त समयमा गरेको गोलमा स्पेनले अमेरिकाको न्यु जर्सीको मेटलाइफ रंगशालामा सोमबार बिहान भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई १–० गोलले पराजित गर्दै फिफा विश्वकप २०२६ को च्याम्पियन बनेको हो ।

स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो । तर निर्धारित ९० मिनेटमा कुनै गोल हुन सकेन । अतिरिक्त समयमा धकेलिएको खेलको पहिलो हाफमा पनि कुनै गोल हुन सकेन । तर फेर्रान टोरेजले १ सय ६ औ मिनेटमा गरेको गोल नै स्पेनको लागि निर्णायक भयो।

निको विलियम्सले दिएको पासमा वैकल्पिक खेलाडीका रूपमा मैदानमा प्रवेश गरेका उनले गोल गरेका थिए । स्पेनले यसअघि २०१० मा दक्षिण अफ्रिकामा पहिलोपटक विश्वकप जितेको थियो ।

दोस्रो हाफको इन्जुरी टाइममा इन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित भएको थियो । ब्राजिलका काफुपछि अर्जेन्टिनाका कप्तान लियोनेल मेसीले ३ विश्वकप खेल्ने कीर्तिमान बनाए । तर उनले फाइनलमा कुनै जादु देखाउन सकेनन् । उनी अधिकांश समय स्पेनको मिडफिल्डको घेराभित्रै रहे ।

यसअघि १९७८, १९८६ र २०२२ को पछिल्लो संस्करणमा विश्वकप जितेको अर्जेन्टिनाले फाइनलमा भोगेको यो चौथो पराजय हो । २०२२ को कतारमा भएको पछिल्लो संस्करणमा अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गरी उपाधि जितेको थियो ।

Next Post

भारतमा ‘कक्रोच’ आन्दोलन चर्कियो, संसद्‍मा हजारौँ युवाको मार्च प्रयास

४ श्रावण २०८३, सोमबार ०४:४१
भारतको राजधानी नयाँ दिल्लीमा युवाको नेतृत्वमा चलेको ‘कक्रोच जनता पार्टी’ (सीजेपी) आन्दोलनका हजारौँ समर्थकले सोमबार संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। प्रदर्शनकारीहरूले शिक्षा क्षेत्रमा देखिएका अनियमितता, परीक्षा प्रश्नपत्र चुहावट र सरकारी जवाफदेहिताको माग गर्दै आन्दोलन गरेका हुन्। प्रदर्शनकारीहरू दिल्लीको जन्तर–मन्तरबाट संसद् क्षेत्रतर्फ अघि बढ्न खोजेका थिए। तर प्रहरीले अनुमति […]