
महेन्द्रनगर, ४ कार्तिक ।
प्रधानमन्त्री शेरबहादुर देउवा दोधाराचाँदनीका बाढीपीडितहरुसँग झोक्किएका छन् । सुदूरपश्चिमको बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षणका लागि यहाँ आएका देउवा बिहीवार साँझ दोधाराको अम्बिका माध्यमिक विद्यालयमा भेला भएका पीडितसँग झोक्किएका हुन् । ‘ए भाई सुन्नुस, तपाई बढ्ता बोल्दै हुनुहुन्छ,’ उनले मञ्चबाटै भने ।
हेलिकोप्टरबाट झरेपछि उनी सरासर मञ्चमा पुगे । मुश्किलले एक मिनेट बोले । दिउँसो ३ बजे प्रधानमन्त्री देउवा पुग्ने तालिका सार्बजनिक गरिएको थियो । पीडित समस्या समाधान हुने आशमा दिनभर कुरे । सवा ५ बजेतिर पुगेका प्रधानमन्त्री देउवाले बाढीपीडितहरुलाई प्रष्ट सन्देश दिन सकेनन । उनको बोलि कतिले बुझेनन पनि ।
‘क्षतिपूर्तीको बिबरण संकलन गरेर छिटो काठमाडौं पठाएपछि यसबारेमा निर्णय लिन्छु,’ उनले यति भनेपछि एकजना पीडितले हल्ला गर्न थाले । त्यसपछि देउवा झर्किए । उनले औला त्रेस्याउँदै ‘तपाई बढ्ता कुरा गर्दै हुनुहुन्छ’ भनेपछि एकछिन माहोल शान्त भएको थियो । प्रधानमन्त्री देउवा कार्यक्रमस्थलमा १० मिनेट पनि रोकिएनन् ।
उनले काठमाडौं फर्किएपछि पीडितहरुका लागि उचित क्षतिपूर्तिको ब्यवस्था गर्छु भनेका छन् । यसअघि प्रधानमन्त्री देउवा सुदूरपश्चिमकै डोटी, बझाङ, बैतडी र डडेल्धुराका केही प्रभावित ठाउँहरुमा पुगे । तर, पहिरोमा परेर २३ जना हराइरहेको थलारा गाउँपालिका–४ मा भने गएनन । प्रधानमन्त्री आउने आशमा हेलिप्याड बनाइएको थियो । दुई फन्को मारेर हेलिकोप्टर फर्केपछि पीडित जिल्लिए ।
बझाङबाट प्रधानमन्त्री देउवाको टोली सिधै बैतडीको ढुंगाड पुगेको थियो । त्यहाँ पीडितका ज्ञापनपत्र मात्र बुझे । उनीहरुप्रति सान्त्वनाका शब्द समेत ब्यक्त नगरेपछि स्थानीय आक्रोशित छन् । ‘न हाम्रा कुरा सुने, नत आफूले नै केही बोले,’ स्थानीय राजेन्द्र चन्दले भने । सिमारेखाडटकमबाट साभार


