बंगालको खाडीमा शक्तिशाली चक्रवात, नेपालमा कस्तो असर पर्ला ?

  ।   २९ बैशाख २०८०, शुक्रबार ०८:४४

बैशाख-२९, काठमाडौ । बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणाली शक्तिशाली चक्रवातमा परिणत भएको छ । ‘मोखा’ नाम दिइएको यो चक्रवातलाई नेपालका मौसमविदले पनि नजिकबाट नियालिरहेको बताएका छन् ।

नेपालमा यसको असर कस्तो रहला ? भन्ने प्रश्नमा जल तथा मौसम विज्ञान विभागकी वरिष्ठ मौसमविद शान्ति कँडेल भन्छिन्, ‘हामी त्यसलाई नजिकबाट मोनिटरिङ गरिरहेका छौं । नेपालमा अलि बढी प्रभाव पार्ने भए चाहिँ हामीले बुलेटिन नै जारी गर्थ्यौं तर नेपालमा त्यसको खासै ठूलो असर पर्ने देखिँदैन ।’

नेपालमा यसले वर्षा गराउने भन्दा पनि बदली गराउने मौसमविद कँडेल बताउँछिन् । त्यसैको असरले आज कोशी प्रदेश र मधेश प्रदेशमा बादल लागेको छ । ‘आजको बुलेटिनमा पनि हामीले कोशी प्रदेश र मधेश प्रदेशको प्रदेशभरी नै आंशिक बदलीको अवस्था दिएका छौं । त्यो भनेको त्यसकै अप्रत्यक्ष प्रभाव हो,’ मौसमविद कँडेलले भनिन्, ‘अहिले यो बदलीमै सीमित छ । तर एक–दुई दिनपछि भने हल्का वर्षा पनि गराउने सम्भावना छ । तर झमझम पानी पर्ने चाहिँ हुँदैन ।’

चक्रवातको पर–परका बादलहरु बेला–बेलामा आक्कलझुक्कल नेपालको आकाशमाथि आउने र त्यसको असरले आंशिक बदली हुने उनको भनाइ छ ।

बंगालको खाडीबाट बुधबार ८ किलोमिटर प्रतिघण्टाको बेगमा उत्तरपश्चिमतर्फ अघि बढेको मोखा `१३ मे´ (शनिबार) देखि गम्भीर चक्रवाती तुफानमा बदलिने भारतीय मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ । यो `१३ मे´को बेलुकीपख चरमस्तरमा पुग्ने र `१४ मे´को बिहान थोरै कमजोर हुने सम्भावना छ ।

Next Post

इमरान खानलाई रिहा गर्न पाकिस्तानी सर्वोच्च अदालतको आदेश

२९ बैशाख २०८०, शुक्रबार ०८:४४
पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई तत्काल रिहा गर्न आदेश दिएको छ। बिहीबार त्यहाँको सर्वोच्च अदालतले खानको गिरफ्तारी गैरकानुनी भएको ठहर गर्दै  उनलाई तत्काल रिहा गर्न आदेश दिएको हो। खानलाई मंगलबार भ्रष्टाचार आरोपमा इस्लामावादस्थित उच्च अदालत परिसरबाटै पक्राउ गरेको थियो । अदालत परिसरबाट पक्राउ गर्नुअघि अदालतकै अनुमति नलिएको भन्दै […]