
लमजुङ, जेठ ६ ।
लमजुङमा गत २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ। जिल्लाको मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुले केन्द्रविन्दु बनाएर बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता आज बिहान ५ बजेर ५१ मिनेटसम्मको अवधिमा यति धेरै पटक भूकम्पको धक्का महसुस भएको हो।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार यस अवधिमा चार रेक्टरभन्दा माथिका ६ वटा र सो भन्दा कम रेक्टरका ८२ वटा भूकम्पका धक्का गएको छ।
केन्द्रका अनुसार आज बिहान ५ बजेर ५१ मिनेटमा ३ दशमलव २ रिक्टर स्केलको भूकम्प गएको छ। यसरी पटकपटक भूकम्प जाँदा जिल्लाबासी त्रसित भइरहेका छन्। बुधबार बिहानदेखि साँझसम्म नै भूकम्पको त्रासले आजित बनाएको जिल्लाबासीलाई रातिको समयमा समेत पटक-पटक भूकम्पको धक्का जाँदा घरभित्र बस्न पनि त्रास भएको छ ।
कतिपय स्थानीयवासी रातभरि घरबाहिर नै सुते भने कति नसुति भित्र बाहिर गरिरहे। जिल्लामा भूकम्प जाँदा सहजरूपमा बाहिर बस्न सक्ने स्थितिसमेत थिएन। रातिको समयमा वर्षा भइरहेकाले थप समस्या भएको स्थानीयवासीको भनाइ छ। कोरोना सङ्क्रमणको जोखिम उच्च भएको भन्दै सरकारले निषेधाज्ञासमेत जारी गरेको छ। सङ्क्रमणको जोखिम र निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्कन र भीडभाड नगर्न भनिएको छ।
भूकम्प मापन तथा अनुसन्धान केन्द्रले समेत भूकम्पको धक्का अब रोकिन सक्छ वा अझै ठूलो आउन सक्छ यकिन भन्न सक्ने अवस्था नभएको जानकारी दिएको छ।


