`केही दिन बाटो बिराए पनी अब एमालेमै रहेर जनताको सेवामा खट्छु´ अध्यक्ष थापा

  ।   १८ चैत्र २०७८, शुक्रबार १७:२८

दैलेख ।

नेकपा एसका कर्णाली प्रदेश कमिटी सदस्य तथा दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा एमालेमा फर्किएका छन् । थापा २०७४ सालको निर्वाचनमा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् ।

उनी पछिल्लो समय नेकपा एकीकृत समाजवादीको प्रदेश कमिटी सदस्य तथा भगवतीमाई गाउँपालिका इन्चार्ज थिए । थापालाई एमाले कर्णाली प्रदेश अध्यक्ष विनोदकुमार शाहले स्वागत गरेका छन् ।

प्रदेश सभा सदस्य सुशिल थापाका अनुसार विभिन्न वडाका जनप्रतिनिधिहरु सेतु खडका, कमला खत्री, मान बहादुर नेपाली, बल बहादुर थापा, सुशिला विकलगायत १२५ जना एमालेमा प्रवेश गरेका छन् ।

`म मूलघरमै फर्किएको छु । केहिदिन बाटो बिराए पनि लामो समय लगानी गरेको दल त्यागेर समाजवादीमा लाग्नु भन्दा अब एमालेमै फर्केर जनताको सेवामा खट्छु’, पार्टी प्रवेशपछि उनले भने, ‘एमाले नै जनताको वास्तविक साथी भएको र एमालेकै नेतृत्वमा सुखी नेपाली समृद्ध नेपाल बन्ने पक्का छ । त्यसैले केही दिन बाटो बिराए पनि मूलघरमै आज फर्किएको हो ।’

अध्यक्ष थापालाई पार्टी प्रवेश गराउँदै एमाले प्रदेश कमिटी अध्यक्ष शाहले देशभक्त, क्रान्तीकारी, समाज परिवर्तनका अगुवाहरु एमालेमै बस्नुपर्नेमा जोड दिए ।

‘अध्यक्ष थापाजस्ता होनहार नेताहरु एमालेमा फर्किनु भएको छ । अब अन्य साथीहरु पनि आफ्नै मुलघरमा फर्कने वातावरण बनाउन हामी तल्लीन छौं ।’ उनले भने, ‘अब स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै गाउँघरमा केन्द्रीत हुन आवश्यक छ । यहाँहरु सबै जना पालिका निर्वाचनको तयारीमा लाग्नुस् ।’

Next Post

शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै लाखौं असुलेर फरार

१८ चैत्र २०७८, शुक्रबार १७:२८
सुर्खेत । शिक्षक सेवा आयोगको परीक्षा पास गराइदिने भन्दै परीक्षार्थीबाट लाखौं रकम असुल्ने युवा फरार भएका छन् । कालीकोट गेला निवासी जगत शाहीले आयोगका पदाधिकारी र कर्मचारीसँग सेटिङ मिलाएर पास गराउने भन्दै परीक्षार्थीबाट ६० लाखभन्दा बढी रकम असुलेर फरार भएका हुन् । १५ गतेबाट सुरु भएको शिक्षक सेवा आयोगको परीक्षामा […]