स्वतन्त्र सांसद महावीर पुनलाई प्रधानमन्त्री बालेन शाहले नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका छन्।
पुनले विगतदेखि विज्ञान, प्रविधि र नवप्रवर्तनलाई अर्थतन्त्रको इन्जिन मान्दै आएका छन् र यस क्षेत्रमा सुधारको आवश्यकता औंल्याउँदै आएका छन्।
उनको सादगीपूर्ण जीवनशैली, प्रविधिमा योगदान र स्पष्ट अभिव्यक्तिका कारण उनी चर्चामा रहँदै आएका छन्, यद्यपि पारदर्शिता र आलोचनासम्बन्धी प्रश्नहरू पनि उठ्ने गरेका छन्।
काठमाडौँ — चुनावमा कुनै पनि दलमा आबद्ध नभई स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित महावीर पुन मन्त्री बनेका छन् । उनले मंगलबार साँझ राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेसँगै मन्त्रीका रूपमा दोस्रो कार्यकाल सुरु गरेका हुन् ।
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले उनलाई नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी दिएका हुन् । यसअघि तत्कालीन अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीको क्याबिनेटमा पुन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री बनेका थिए ।
अहिले सरकारले संघीय प्रशासनिक संरचनामा सुधार गर्दै मन्त्रालयहरूको संख्या २२ बाट घटाएर १७ मा झारेको छ । २०८३ वैशाख ३० मा बसेको मन्त्रिपरिषद् बैठकले ‘नेपाल सरकार (कार्यविभाजन) नियमावली, २०८३’ स्वीकृत गर्दै उक्त निर्णय कार्यान्वयनमा ल्याएपछि नयाँ मन्त्रालयका रूपमा विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय अस्तित्वमा आएको हो ।
मंगलबार दिउँसोसम्म भने आफू मन्त्री बन्नेबारे पूर्ण रूपमा बेखबर रहेको पुनले बताएका थिए । उनी नवप्रवर्तन मन्त्री बन्ने खबर फैलिएपछि कन्टेन्ट क्रिएटरले घेरिँदा पुनले भनेका थिए, ‘किताब बेच्दै गरेको मान्छेलाई यहाँ ल्याएर अपर्झट मन्त्री बनाइदिएपछि अहिले नै के गर्छौ भन्ने नसोध्नुस् । पहिलो काम मन्त्रालयमा गएर के के छ, त्यो बुझ्छु ।’
म्याग्दीमा रास्वपाले उम्मेदवार नउठाएर पुनलाई सहयोग गरेको थियो । सांसद् बनेपछि पुन सत्तारुढ रास्वपाप्रति नरम सुनिँदै आएका छन् । प्रधानमन्त्री शाहले भारतको भूमि नेपालले मिचेको भन्ने विवादित अभिव्यक्तिमा समेत पुनले प्रधानमन्त्रीकै समर्थन गर्दै आएको सुनिन्छ । सरकारले विज्ञान र नवप्रवर्तनको विषय भने नीति तथा कार्यक्रम र बजेटमा छुटाएको गुनासो पुनले गरेका थिए । ‘तपाईंहरूले सुशासन ल्याएर राम्रो गाडी, आरामदायी सोफा बनाउन खोज्नु भएको छ तर त्यसमा इन्जिन हालेन भने त्यो गाडी गुड्छ ?’ उनले संसद्मा भनेका थिए, ‘इन्जिन भनेको के हो ? अर्थतन्त्रको इन्जिन भनेको विज्ञान, प्रविधि र नवप्रवर्तन होइन ?
उनले आफू मन्त्री बन्न नभइ देश र अर्थतन्त्रको लागि विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालय चाहिने दोहोर्याउँदै आएका थिए ।

