फिफा विश्वकपको राउन्ड अफ-१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्दै र बेल्जियमले अमेरिकालाई १ –
४ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका छन ।
अमेरिकाको डलास रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयतर्फ धकेलिएको थियो। तर, खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए।
यो जितसँगै स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ। यसअघि सन् २०१० मा च्याम्पियन बनेपछि स्पेनले क्वाटरफाइनलको यात्रा तय गर्न सकेको थिएन। अर्कोतर्फ, यस हारसँगै पोर्चुगलको विश्वकप यात्रा राउन्ड अफ-१६ मै समाप्त भएको छ।
४१ वर्षीय सुपरस्टार क्रिस्टियानो रोनाल्डोका लागि यो छैटौं तथा अन्तिम विश्वकप थियो। खेलपछि मैदानबाट बाहिर निस्कँदा उनी निकै भावुक देखिएका थिए। खेलको पूर्वसन्ध्यामा पत्रकारहरूसँग कुरा गर्दै उनले भनेका थिए, ‘मेरो अन्तिम विश्वकपको पूर्ण आनन्द लिन चाहन्छु।’ यस खेलसँगै फुटबलको सबैभन्दा ठूलो मञ्चमा रोनाल्डोको यात्रा टुंगिएको छ। उनले विश्वकपमा कुल ११ गोल गरेका छन्।
यस्तै सह आयोजक अमेरिकामाथि ४-१ गोलको सहज जित निकाल्दै बेल्जियमले स्पेनसँग हुने रोमाञ्चक क्वार्टरफाइनलमा भेट पक्का गरेको छ।
बेल्जियमले सुरुदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै सहज रूपमा अन्तिम आठमा स्थान सुरक्षित गरेको छ। अर्कोतर्फ, घरेलु समर्थकको साथ पाएको अमेरिकाका लागि यो निकै निराशाजनक प्रदर्शन रह्यो। खेलको ९०+३ मिनेटमा रोमेलु लुकाकुले गोल गरेपछि बेल्जियमले अमेरिकाविरद्ध ४-१ गोल बनाएको हो।
यसअघि, खेलको ५७ औं मिनेटमा हान्स भानकेनले गरेको बेल्जियमको अग्रतम बढाएका थिए। साथै, खेलको ३२औं मिनेटमा चार्ल्स डी केटलेरेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २-१ को स्थितिमा पुर्याएका थिए। खेलको नवौं मिनेटमा पनि केटलेरेले नै गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए।
यस्तै, खेलको ३१औं मिनेटमा अमेरिकाका मलिक टिलम्यानले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए। टिलम्यानको प्रहारमा हान्स भनाकेनले हेड गर्दा बलले दिशा परिवर्तन गरी बेल्जियमका गोलरक्षक थिबाउट कोर्टुआलाई झुक्याउँदै जाली चुमेको थियो।
तर, बराबरीको केही क्षणमै बेल्जियमले उत्कृष्ट जवाफ फर्कायो। लेन्ड्रो ट्रोसार्डले बाँया भागबाट दिएको क्रसमा डी केटलेरेले रिचर्ड्स र रिमभन्दा माथि उफ्रेर उत्कृष्ट हेडरमार्फत गोल गर्दै बेल्जियमलाई पुनः अग्रता दिलाएका थिए।
