नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट

  ।   २७ भाद्र २०८३, शनिबार १६:५५

काठमाडौँ — यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । मलेसियामा भइरहेको प्रतियोगिताको शनिबार भएको फाइनलमा नेपालले उपाधि रक्षा गरेको हो ।उपाधिसँगै नेपाल लगातार दोस्रो पटक एकदिवसीय एसिया कपमा छनोट भएको छ ।

२०२३ मा घरेलु भूमिमा भएको यस प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई नै ७ विकेटले पराजित गर्दै पहिलो पटक एसिया कप खेलेको थियो । एसियाली क्रिकेट परिषद् (एसीसी) को आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले मात्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कपमा खेल्न पाउने प्रावधान रहेको छ ।

आसिफको शतकमा बनेको विजयको आधार

ओपनिङ ब्याटर आसिफ शेखको शतकमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई ३ सय १३ रन बनाएको थियो । आसिफले १ सय ६ बलमा १ सय २ रन बनाएपछि क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा चम्किलो ब्याटिङ गरेका थिए । जवाफमा ओपनर तानिस सुरीको आक्रामक ब्याटिङको बेग र राहुल चोपराको शतकलाई पन्छाउँदै नेपालले यूएईलाई ४९.२ ओभरमा २ सय ६९ रनमा अलआउट गर्‍यो ।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा यूएईविरुद्ध बनाएको यो उच्च स्कोर हो । मेमा कीर्तिपुरमा नेपालले यसअघि यूएईविरुद्ध २ सय ८९ रन बनाएको थियो । नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा ३ सय रनमाथिको स्कोर बनाएको यो केवल चौथो पटक हो । एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको यो तेस्रो उच्च स्कोर हो ।

आसिफले ८ चौका र ४ छक्का प्रहार गर्दै एकदिवसीय अन्तर्राष्ट्रियमा आफ्नो दोस्रो शतक बनाए । यसअघि २०२३ को मार्चमा उनले पपुवा न्युगिनीविरुद्ध कीर्तिपुरमा १ सय १० रन बनाएका थिए । प्रतियोगिताको पहिलो ५ खेलमा ९३ रनमात्र बनाउन सकेका कारण दबाबबीच आसिफले फाइनलमा उत्कृष्ट इनिङ्स खेलेका हुन् । हैदर अलीको बलमा पुल शट खेल्न खोज्दा उनी आउट फाइन लेगमा आयान खानबाट क्याच भए ।

आसिफले अर्जुन कुमालसँग पहिलो विकेटमा २१ ओभरमा ९७ रन जोडेर नेपालको मजबुत इनिङ्सको आधार बनाएका थिए । कमजोर ब्याटिङ गर्दै आएको नेपालको प्रतियोगितामा यो उच्च साझेदारी पनि हो । अर्जुन ४३ रनमा रनआउट भएपछि यो साझेदारी टुटेको थियो । अर्जुनले ६३ बल खेली ६ चौका प्रहार गरे । इशान पाण्डे २० बल खेली १३ रन बनाई अबिद उस्मानीको बलमा कट बिहाइन्ड भए । त्यसपछि आसिफ र रोहित पौडेलले तेस्रो विकेटमा ९ ओभरभित्र ६८ रनको साझेदारी गरे ।

रोहितले गुलशन झासँग चौथो विकेटमा ९ ओभरमै पुनः ६७ रनको साझेदारी गरे । रोहितले ४४ बल खेली २ चौका प्रहार गर्दै ४० रन बनाए । उनी खुजैमा तान्भिरको अफ स्टम्पबाहिरको बलमा प्रहार गर्न खोज्दा विकेटको पछाडि क्याच भए । उनै तान्भिरलाई ‘स्ट्रेट’ छक्का प्रहार गर्दै गुलशन झाले ३६ बलमा अर्धशतक पूरा गरेका थिए । गुलशनले ३८ बलमा ५२ रन बनाउने क्रममा ३ चौका र ४ छक्का प्रहार गरे ।

सन्दीप जोरा ४ बलमा ७, करण केसी १ रनमै आउट भए । दीपेन्द्रसिंह ऐरी १८ बलमा १८ रनमा आउट भए । कप्तान सन्दीप लामिछानेले पनि १ रनमात्र बनाउन सके । बसिर अहमदले ४ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १५ रन बनाए भने ललित राजवंशी १ रनमा अविजित रहे ।

यूएईमाथि लगातार दोस्रो जित

नेपालले फाइनलमा यूएईलाई लगातार दोस्रो पटक पराजित गरेको हो । तर यूएईले पहिलो ५ ओभरमै ४५ रन जोडेर दमदार सुरुआत गरेको थियो । पाँचौं ओभरको अन्तिम बलमा ललित राजवंशीले अबिद उस्मानीलाई ६ रनमा बोल्ड गरी नेपाललाई पहिलो सफलता दिलाए । सन्दीपले आकाशदिप नाथलाई शून्यमा बोल्ड गरे ।

ओपनर सुरीले २८ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । उनी सुरुआतमा करण केसी र अन्य नेपाली बलरमाथि आक्रामक बनेका थिए । तर करणले नै उनलाई बाउन्ड्री लाइनमा सन्दीप जोराबाट क्याच गराएपछि यूएई नवौं ओभरमा ५६–३ को स्थितिमा पुगेको थियो ।

कप्तान हरप्रित सिंहले ३३ रन बनाए । उनले ४१ बल खेली ४ चौका प्रहार गरी रोहितको बलमा आउट भए । गुलशनले आयानलाई ९ रनमा आउट गरे । राहुल चोपरा र शोहेब खानले छैटौं विकेटमा ८७ रनको साझेदारी गरे । शोहेबलाई ललितले ५२ रनमा बोल्ड गरे । उनले ५७ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । तान्भिरले १८ बलमा १५ रन बनाए । उनलाई दीपेन्द्रले बोल्ड गरे ।

करणले ४७ औं ओभरमा इब्रार अहमदलाई १ र मोहम्मद मोहसिनलाई शून्यमा आउट गरे । बसिरले अन्तिम ब्याटर हैदर अलीलाई शून्यमा स्टम्प गराए । चोपरा १ सय रनमा अविजित रहे । इनिङ्सका क्रममा घाइते भएका उनले १ सय ५ बल खेली ३ चौका र ४ छक्का प्रहार गरे । करणले ९ ओभरमा ४९ रन खर्चेर ३ र ललित राजवंशीले १० ओभरमा ४३ रन खर्चेर २ विकेट लिए ।

यूएईले अपराजित यात्राका साथ फाइनल खेलेको थियो । पहिलो तीन खेल जितेर सेमिफाइनलमा सुरक्षित भएको नेपाल भने समूह चरणको अन्तिम खेलमा हङकङसँग १५ रनले पराजित भएको थियो । नेपालले सेमिफाइनलमा १ सय ४७ रन मात्र बनाउन सके पनि ओमानलाई ८७ रनले पराजित गरेको थियो ।

Next Post

सल्यानमा जिप दुर्घटना तीन जनाको मृत्यु

२७ भाद्र २०८३, शनिबार १६:५५
सल्यानमा शनिबार बिहान भएको बोलेरो जिप दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ । गम्भीर घाइते डिल्लीबहादुर वलीको उपचारका क्रममा मृत्यु भएपछि मृत्यु हुनेको संख्या तीन पुगेको हो । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी देवराज भट्टराईका अनुसार त्रिवेणी गाउँपालिका ५ सिम्खबाट लुहाम हुँदै तुलसीपुर जाँदै गरेको लु प्र ०२००१ […]

सम्बन्धित