
बिनु भारती
बैशाख १३, दैलेख ।
पत्रकार हिक्मतबहादुर नेपालीको अध्यक्षतामा राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा दैलेखको ९ सदस्यीय कार्य समिति चयन गरिएको छ । दैलेख सदरमुकाममा भएको स्थानीय तथा राष्ट्रिय संचार गृहमा कार्यरत पत्रकारहरुको भेलाले अन्नपूर्ण पोष्ट र ज्वाला सन्देश अनलाइनमा कार्यरत पत्रकार नेपालीलाई अध्यक्षमा चयन गरेको हो ।
भेलाले उपाध्यक्षमा थाहा खबर र धमाका दैनिकमा कार्यरत पत्रकार उदयराज अधिकारीलाई चयन गरेको छ भने सचिवमा यामराज विष्ट र कोषाध्यक्षमा कृष्णप्रसाद अधिकारीलाई चयन गरेको छ । विष्ट मध्यान्न दैनिक/पश्चिम नेपाल अनलाइन र अधिकारी सौर्य दैनिकमा कार्यरत छन् । जिल्ला शाखाको सदस्यहरुमा पत्रकारहरु कमला विसी, प्रेमिका सिंह, राकेश विक, खगेन्द्र खड्का र धरमरत्न थापामगर चयन भएका छन् ।
भेलाले पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु शर्मा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोविन्ददेव भारती र प्रेस चौतारी नेपालका जिल्ला सचिव कमल शर्मा सहित तीन सदस्यीय सल्लाकार समिति समेत चयन गरेको छ ।

९४ औँ राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसर पारेर आयोजित भेलाले स्वदेश तथा विदेशमा रहेका फोटो पत्रकारहरु, फोटोग्राफीमा रुची राख्ने सम्पूर्णमा शुभकामना समेत दिइएको छ । भेलापछि नवगठित शाखाका अध्यक्ष नेपालीले फोटो पत्रकारहरुको हकहित तथा फोटोको माध्ययमबाट दैलेख जिल्लाको पहिचान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउने गरी विभिन्न कार्यहरु गरिने बताए ।
त्यसलगत्तै राष्ट्रिय फोटो पत्रकार समुह जिल्ला शाखा दैलेखको पहिलो पूर्ण बैठकले केहि महत्वपूर्ण निणर्यहरु गरेको सचिव यामराज विष्टले बताए । बैठकले विश्वव्यापी रुपमा फैँलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबाट दैलेख जिल्ला पनि अछुतो रहन नसकेको अवस्थामा महामारीलाई परास्त गर्न जिल्लास्थित स्थानीय सरकार, सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, पत्रकार, कर्मचारी शिक्षक, संघसंस्थाहरु लगायत जिल्लाबासीलाई अपील गरेको छ ।
भेलामा नेपाल पत्रकार महासंघका दैलेखका पूर्व अध्यक्ष विष्णु शर्मा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य गोविन्ददेव भारती, गोरखापत्र दैनिकमा कार्यरत कमल शर्मा, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दैलेखका उपाध्यक्ष बालकुमारी बुढा, सदस्य मिरा स्वर्णाकार लगायतको उपस्थिति थियो ।


