
बैतडी ।
सेतीको बाढी बस्ती पसेर डुबानमा परेको सिगास गाउँपालिका –५ को ढुंगाड बस्ती सम्पर्क बाहिर छ । सोमबार रातीदेखि नेपाल टेलिकमको नेटवर्क छैन । ढुंगाडमा सम्पर्क गर्न सकिने एनसेलले पनि काम नगरेपछि बाढीमा फसेका स्थानीयहरुसँग सम्पर्क हुन नसकेको बैतडी प्रशासनले जनाएको छ । बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले ४/५ घण्टाको दुरीमा रहेको शिवलिङ प्रहरी चौकीबाट ६ जना प्रहरीको टोली ढुंगाडतर्फ गएको बताए ।
उनले मंगलवार अपरान्ह् १२ बजे प्रहरीसँग सम्पर्क भएको बताउदै सम्भवतः प्रहरी टोली २ बजेसम्म ढुंगाड पुग्ने बताए ।’ प्रहरी ढुंगाड पुगे नपुगेको यकिन हुन सकेको छैन,’ सहायक प्रजिअ भारतीले भने, ‘बाढीको यकिन जानकारी आउने बित्तिकै जिल्लाबाट थप सुरक्षाकर्मी पठाउन तयारी अवस्थामा छौँ ।’
सोमबार राती नै ढुंगाडमा दर्जनौ घर डुबानमा परेको खबर आएको थियो । मोबाइल फोनले काम नगर्दा यकिन विवरण भने मंगलबार दिउसो पनि स्थानीय प्रशासनले प्राप्त गर्न सकेको छैन । बाढीमा मानवीय क्षती भने नभएको तर ढुंगाडका दर्जनौ घरको दुबै तर्फ सेती पस्दा ५०/६० जना फसेको स्थानीय राजेन्द्र चन्दले बताएका छन् । तर पछिल्लो ३ घण्टामा भने कसैसँग सम्पर्क हुन सकेको छैन । बैतडीमा सोमबार राती देखि विद्युत र टेलिकमको सेवा अवरुद्ध हुदा जिल्ला भरिको टेलिफोन सेवा अवरुद्ध बनेको छ ।
तस्विरः ललिता धामी


