`यो राजाको शासन होइन, हुकुम चल्दैन, यो गणतन्त्र हो, यहाँ कानून चल्छ’-गगन थापा

  ।   १५ जेष्ठ २०८०, सोमबार १६:३४

जेठ-१५, ललितपुर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कानूनको शासनको वकालत गर्दा सरकार ढले पनि केही नहुने बताएका छन्। अहिलेको सरकार ढले अर्को सरकार बन्ने उनको भनाइ छ।

टीकापुर घटनामा सर्वोच्च अदालतबाट जन्मकैद फैसला भएका रेमश चौधरीलाई माफी दिने निर्णय सरकारले गरेको थियो। चौधरी आज छुटिसकेका छन्।

यसतर्फ लक्षित गर्दै थापाले सरकारले जे मनलाग्यो त्यो निर्णय गरेको र राष्ट्रपतिले सजायसमेत मिनाहा गरिदिएको उल्लेख गरेका छन्।

ललितपुर कांग्रेसले सोमबार गरेको कार्यक्रममा महामन्त्री थापाले भने, ‘अदालतले गरेको अन्तिम फैसलाका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानूनले बन्दोबस्त गरेको छ। आज सरकारलाई मन लाग्यो निर्णय गरिदियो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो। यो राजाको शासन होइन, हुकुम चल्दैन। यो गणतन्त्र हो, यहाँ कानून चल्छ।’

सरकार चलाउन गाह्रो-सजिलो पर्दा प्रचलित कानूनलाई मिचेर थिचेर बलमिच्याइँ गर्ने गरिएको उनले बताए। ‘अदालतको पूर्ण पाठ आएको छैन, हतार-हतार निर्णय गर्छौं भने यसको अर्थ हामीले अदालतलाई हेप्यौं। बलमिच्याइँ गर्‍यौं। के भन्यौं भने जे गरे पनि हुन्छ,’ उनले भने।

कांग्रेस विधिको शासनमा अडिनुपर्ने उनले बताए। ‘विधिको शासन कांग्रेसको ठूलो शक्ति हो। त्यो कानूनको शासनको वकालत गर्दै गर्दा सरकार गए जान्छ। यस्तो सरकार गए जान्छ केही हुन्न। अर्को सरकार बन्छ केही फरक पर्दैन। तर कानूनको शासनलाई कांग्रेसले सम्झौता गर्दैन भन्ने कुरा हामीले स्थापित गर्न सकेनौं भने नागरिकले हामीलाई के भन्छन्?,’ उनले प्रश्न गरे।

Next Post

बियरको मूल्य बोत्तलमै १० रुपैयाँले वृद्धि, रक्सी र चुरोट खैनीको भाउ पनि बढ्ने

१५ जेष्ठ २०८०, सोमबार १६:३४
जेठ-१५, काठमाडौ । आउँदो आर्थिक वर्षको बजेटमा भएको व्यवस्थाका कारण रक्सी, बियर, चुरोट, खैनीलगायतका वस्तुको भाउ बढेको छ । यी वस्तुमा बढेको भाउ मङ्गलवारदेखि नै लागू हुनेछ । आउँदाे आर्थिक वर्ष २०८०/८१ का लागि आज साेमवार संसदमा प्रस्तुत भएको बजेटअनुसार अन्तःशुल्क बढ्दा समग्र मूल्य बढ्ने भएको हो । अहिले बियरमा प्रतिलिटर […]