
बिष्णु कुमारी जैशी
मङ्सिर-१७, दैलेख ।
उपनिर्वाचन सम्पन्न भएका दैलेखका दुई स्थान मध्य दुबै स्थानमा एमालेले जित हासिल गरेको छ । महाबु गाउपालिकाको अध्यक्ष तथा दुल्लु नगरपालिका वडा नम्बर १३ को वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा दुबै स्थानमा एमालेले जितेको हो ।
दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भएका छन् । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले जितेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।
एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए । रास्वपाका प्रकाशकुमार बुढाले ११२ मत मात्रै पाए ।
एमालेबाट निर्वाचित भएका शाही यसअघि एकीकृत समाजवादीको केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष थिए । उनी उपनिर्वाचनअघि मात्रै एमालेमा फर्किएर टिकट पाएका हुन् ।
०७४ को स्थानीय तहको निर्वाचनमा एमालेबाट सोही पालिकामा अध्यक्ष जितेका उनी पार्टी विभाजनपछि एकीकृत समाजवादीतिरमा लागेका थिए भने ०७९ को स्थानीय तहको निर्वाचनमा एकीकृत समाजवादीबाट चुनाब लडेर २२६८ मत ल्याएर तेस्रो भएका थिए ।
त्यस्तै, दैलेखकै दुल्लु नगरपालिका वडा नं-१३ को वडा अध्यक्ष पदमा नेकपा एमालेका लालबहादुर शाही विजयी भएका छन् । उनि पाँच सय ७४ मत प्राप्त गरी उक्त पदमा निर्वाचित भए हुन्।

उनका निकटम् प्रतिद्वन्दी नेपाली काँग्रेसका रेशमबहादुर शाहीले पाँच सय ७१ मत पाएका थिय।
त्यसैगरी नेकपा माओवादी केन्द्रका ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, रास्वपाका रामबहादुर शाहीले ५३, राप्रपाका रेशमबहादुर मल्लले १३ र नेमकिपाका पूर्णप्रसाद उपाध्यायले चार मत पाएका थिए

