महाकालीमा भिडियो बनाउने क्रममा १५ वर्षीया किशोरी बेपत्ता

  ।   २२ भाद्र २०८३, सोमबार १७:३४

महाकाली नदी किनारमा भिडियो बनाउने क्रममा कञ्चनपुरकी १५ वर्षीया किशोरी नदीमा बगेर बेपत्ता भएकी छन् । दोधारा चाँदनी नगरपालिकाको
महाकाली नदी किनारमा सोमबार मध्यान्ह भिडियो बनाउने क्रममा स्थानीय सृष्टि सुनार नदीमा बगेकी हुन् ।

घटनाको जानकारी पाएलगत्तै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय युवाहरूको टोलीले किशोरीको खोजतलास सुरु गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रेमप्रकाश सिग्देलका अनुसार बीओपी सुन्दरनगरबाट सशस्त्र प्रहरी निरीक्षक दिलीप खड्काको कमान्डमा ७ जनाको टोली आवश्यक उद्धार सामग्रीसहित घटनास्थलतर्फ खटाइएको छ । ‘घटनास्थल बीओपी सुन्दरनगरबाट करिब ६ किलोमिटर दक्षिणमा पर्छ । खबर पाएलगत्तै आवश्यक उद्धार सामग्रीसहित टोली परिचालन गरेका हौं,’ सिग्देलले जानकारी दिए ।

उनका अनुसार सीमा सुरक्षा गुल्म देवीस्थानबाट पनि सशस्त्र प्रहरी नायव उपरीक्षक प्रभातकुमार गौतमको कमान्डमा थप ७ जनाको टोली रबर बोटसहित घटनास्थलमा परिचालन गरिएको छ । ‘देवीस्थानबाट रबर बोटसहित थप ७ जनाको टोली पनि घटनास्थलमा खटाइएको छ । नेपाल प्रहरी र स्थानीय युवाहरूको टोलीसमेत खोजी तथा उद्धारमा परिचालित छन्,’ सिग्देलले भने ।

महाकालीमा पानीको बहाव तीव्र रहेकाले खोजी तथा उद्धार कार्य चुनौतीपूर्ण बनेको छ । दोधारा चाँदनी नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अमृत विकका अनुसार किशोरीको खोजतलास जारी छ ।

यसैबीच, महाकाली नदीमा पानीको बहाव उच्च रहेको छ । सोमबार दिउँसो गरिएको मापनअनुसार नदीमा १ लाख ३० हजार क्युसेक पानीको बहाव रहेको जिल्ला विपद् व्यवस्थापन आपतकालीन कार्य सञ्चालन केन्द्र, कञ्चनपुरले जनाएको छ । सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रसँगै भारतको उत्तराखण्डमा समेत लगातार वर्षा भइरहेकाले महाकालीको बहाव अझै बढ्ने खतरा छ ।

बहाव बढिरहेका बेला जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकालीसहित अन्य नदी तथा खोलानालाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । प्रशासनले नदीमा पानीको बहाव बढिरहेका बेला माछा मार्ने, नदी तर्ने, नदी किनारमा जाने तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । सम्भावित बाढी तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय तथा विपद् व्यवस्थापनसँग सम्बन्धित निकायलाई तयारी अवस्थामा रहनसमेत आग्रह गरिएको छ ।

Next Post

कर्णालीमा हामफालेका व्यक्तिको जिवितै उद्दार

२२ भाद्र २०८३, सोमबार १७:३४
कर्णाली नदीमा हाम फाले आत्म हत्याको प्रयास गर्ने एअक ब्रिदलाई प्रहरी र स्थानीयले उद्वार गरि बाचाउन सफल भएका छन् | घोडाघोडी नगरपालिका–१, सुखड निवासी अन्दाजी ६५/६६ वर्षीय चेतमान बमको  स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरिएको हो | सुदुर पश्चिम प्रदेशको प्रवेश द्रार रहेको  चिसापानी स्थित कर्णाली पुल मुनीबाट नदीमा पुरुष […]