झापा, असोज ३० ।
बञ्चरो प्रहार गरी साथीको हत्या गरेको अभियोगमा प्रहरीले झापाको कनकाई नगरपालिकाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कनकाई–७ का २२ वर्षीय रविन राजवंशी रहेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीमा आज पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कृष्ण कोइरालाले अभियुक्तलाई सार्वजनिक गरेका छन् ।
बुधबार बिहान कनकाई–३ एकान्त टोलस्थित सुरुङ्गा खोलाको बाँध र बाँसघारीको झ्याङको बीचमा सोही स्थानका २२ वर्षीय अभिषेक चौधरीको धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । “युवाको शव हत्या गरेको अवस्थामा फेला परेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो”, प्रमुख कोइरालाले भन्नुभयो, “सोही दिन अभियुक्तलाई पक्राउ गर्यौँ ।
शव फेला परेको अघिल्लो दिन अर्थात् मङ्गलबार राति साढे ९ बजे घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

