अर्जेन्टिना-इंगल्याण्डको टिकट फ्रान्स-स्पेनको भन्दा दोब्बर महँगो

  ।   ३० असार २०८३, मंगलवार ०९:२५

जारि विश्वकप फुटबल २०२६ को सेमिफाइनल खेल फुटबलका शक्तिशाली राष्ट्रहरू आमनेसामने हुँदैछन्। तर, रोचक कुरा के छ भने एउटा खेलको टिकट मूल्य अर्कोको तुलनामा दोब्बरभन्दा बढी अहंगो देखिएको छ।

फिफा विश्व वरीयताको शीर्ष स्थानमा रहेको फ्रान्सले आज डलास रंगशालामा तेस्रो स्थानको स्पेनसँग महाभिडन्त गर्दैछ। नेपाली समयअनुसार यो खेल बुधबार बिहान १२:४५ (मंगलबार मध्यराति) हुनेछ। फिफाका अनुसार यो खेलको सुरुवाती टिकटको मूल्य दुई हजार ७५० अमेरिकी डलर कायम भएको छ।

अर्कोतर्फ, डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले बिहीबार एटलान्टामा इंगल्याण्डविरुद्ध ऐतिहासिक खेल खेल्दैछ। नेपाली समयअनुसार यो खेल बिहीबार बिहान १२:४५ बजे (बुधबार मध्यराति) सुरु हुनेछ। एटलान्टा रंगशालामा हुने यो खेलको न्यूनतम टिकट मूल्य सात हजार ५०० डलरसम्म पुगेको छ।

समग्रमा हेर्दा लियोनेल मेस्सीको क्रेज र ऐतिहासिक प्रतिद्वन्द्विताका कारण अर्जेन्टिना-इंगल्याण्ड खेलको टिकट मूल्य फ्रान्स-स्पेनको तुलनामा दोब्बरभन्दा बढी महँगो भएको छ। फिफाको आधिकारिक हस्पिटालिटी प्याकेजहरूमा पनि यो भिन्नता स्पष्ट देखिन्छ, जहाँ फ्रान्स-स्पेन खेलको प्याकेज दुई हजार ७५० डलरबाट सुरु हुँदा अर्जेन्टिना-इंगल्याण्ड खेलको सुरुवाती मूल्य नै सात हजार ४०० डलरसम्म पुगेको छ। तर अर्जेन्टिना-इंगल्याण्डको मूल्य बेला बेलामा परिवर्तन हुँदैछ।

यस मूल्य असमानताको मुख्य कारण दुई टोलीबिचको ऐतिहासिक प्रतिद्वन्द्विता र लियोनेल मेस्सीको विश्वव्यापी प्रभावलाई मानिएको छ। आफ्नो खेल जीवनको अन्तिम विश्वकप खेलिरहेका मेस्सीको जादु हेर्न विश्वभरका प्रशंसक जति पनि मूल्य तिर्न तयार देखिएका हुन्। यसबाहेक, इंगल्याण्ड र अर्जेन्टिनाको भिडन्तलाई केवल एउटा खेलका रूपमा मात्र नभई दुई देशबिचको दशकौँ पुरानो भूराजनीतिक इतिहास र खेलकुद शत्रुताका रूपमा हेरिन्छ।

सन् १९८२ को फकल्याण्ड टापुको युद्धको तनाव र सन् १९८६ को विश्वकपमा डिएगो म्याराडोनाको चर्चित ‘ह्यान्ड अफ गड’ गोलजस्ता ऐतिहासिक घटनाले यो खेलको रोमान्चकतालाई सधैँ चरम सीमामा पुर्‍याउने गर्छ। खेलकुद विज्ञका अनुसार अमेरिकामा रहेको ठूलो संख्याको आप्रवासी जनसंख्या र एटलान्टासम्मको सहज हवाई उडान पहुँचले गर्दा पनि यो खेलको माग र मूल्य अत्यधिक बढेको हो।

अर्कोतर्फ, युरोपेली पावरहाउस फ्रान्स र स्पेन धेरै पटक यस्ता ठूला मञ्चमा भिडिसकेकाले यो खेल धेरै फुटबल प्रशंसकका लागि अलि ‘सामान्य’ जस्तो देखिएको छ, जसका कारण यसको टिकट मूल्य तुलनात्मक रूपमा सस्तो छ।

टिकटको यो अस्वाभाविक महँगो मूल्य निर्धारणलाई लिएर फिफाले चौतर्फी आलोचना खेपिरहेको छ। फिफाले अमेरिकामा लागू गरेको ‘गतिशील टिकट मूल्य निर्धारण मोडेल’ का कारण माग बढ्नासाथ टिकटको मूल्य वास्तविक समयमा आफैँ बढ्ने गर्दछ।

यसैबिच, न्यूयोर्क र न्यू जर्सीका राज्य अधिकारीले फिफाको यो शंकास्पद मूल्य निर्धारण एल्गोरिदम र महँगो कालोबजारी प्रणालीलाई लिएर औपचारिक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएका छन्। विभिन्न फ्यान समूहले पनि फिफा विरुद्ध अदालतमा मुद्दा दायर गरिसकेका छन्।

यो खेलको ऐतिहासिक महत्त्व कतिसम्म छ भने बुधबारको नतिजाले या त मेस्सीलाई उनको जीवनको दोस्रो र सम्भवतः अन्तिम विश्वकप फाइनलमा पुर्‍याउनेछ, या त ६० वर्षपछि इंगल्याण्डलाई विश्वकपको फाइनल यात्रा गराउनेछ।

Next Post

विद्युत् कार्यालयको गाडी दुर्घटना : दुईको मृत्यु, एक घाइते

३० असार २०८३, मंगलवार ०९:२५
नेपाल विद्युत् प्राधिकरण धरान कार्यालयको सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। धरान–इटहरी कोशी लोकमार्गअन्तर्गत इटहरी उपमहानगरपालिका–२० स्थित सेउती पुल नजिक गए राति सवारी दुर्घटना भएको थियो। धरानबाट इटहरीतर्फ जाँदै गरेको बा१ञ १६५१ नम्बरको स्कारपियो गाडी राति करिब ११ः३० बजे दुर्घटना भएको जिल्ला […]